आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।
आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ ।
यस्तै आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् ।