नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न थालेको छ।
पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो।
ब्युरोका अनुसार सुन तस्करी प्रकरणमा अर्थ मन्त्रालयका उच्च अधिकारी र केही नेपाली व्यवसायी पनि निगरानीमा छन्। ‘एक नेपाली व्यवसायीमार्फत अर्थ मन्त्रालय उच्च अधिकारीसम्म दावा छिरिङको पहुँच पुगेको देखियो’, प्रहरी उच्च स्रोतले भन्यो।
प्रहरीले कल डिटेल पनि अनुसन्धान गरिरहेको छ।