जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसम्म ८६ जनाको ज्यान गएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना छन्। करिब डेढ सय भन्दा बढी घाइते भएका छन्।
भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएका छन्। घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ।
त्यस्तै, छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरीका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ। तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको छ।
शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो । त्यस पछि पनि पराकम्प जाने क्रम जारी छ ।
उद्धारका लागि सबै निकाय परिचालित गरिएको छ । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोली सहित भूकम्प प्रभावित क्षेत्रमा गैसकेका छन् ।