इलाम-२ मा ६० र बझाङ-१ मा ५० प्रतिशत मात्र मतदान भएको छ ।
निर्वाचन आयोगले इलाम र बझाङ उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ ।भने बझाङमा करिब ५० प्रतिशत मतदान भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।कुल एक लाख १५ हजार ८८९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए । ‘शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भयो । यो प्रहरीको रिपोर्टअनुसारको मत संख्या हो,’ उनले भने, ‘अब ठ्याक्कै कति मत खस्यो भन्नेचाहिँ गणनाका क्रममा थाहा हुन्छ ।’
०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो । ‘हामीले पूर्वानुमान गरेजति नै मत खस्यो । गत निर्वाचनमा पनि यहीहाराहारीमा मत खसेको थियो । यो सन्तोषजनक नै छ,’ उनले भने, ‘कतिपय वैदेशिक रोजगारीमा छन् । कक्षा १२ को परीक्षा पनि यही वेला भएकाले गाउँ छाडेर परीक्षा केन्द्रसम्म पुगेका विद्यार्थीले मत खसाल्न पाएनन् । तसर्थ, ६० प्रतिशत मात्र पुग्यो ।’ त्यस्तै, बझाङ प्रदेश सभा -१ मा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा ४९/१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् ।
जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उनका अनुसार प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
भौगोलिक विकटता रहेको यो निर्वाचन क्षेत्रका मतदानस्थलको मतपेटिका संकलन गरी इलाम सदरमुकाम लगिएको थियो । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर गणनाको समय तय जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । ‘भौगोलिक विकटताका कारण मतपेटिका आइपुग्न समय लाग्छ । सबै मतपेटिका आइपुग्दा १ नै बज्न सक्छ । त्यसपछि मात्र सर्वदलीय बैठक बस्छ,’ निर्वाचन अधिकृत देवीचरण फुएलले भने, ‘सम्भवतः आइतबार बिहानबाट मत गणना गरिनेछ ।’ मतपेटिका गणनास्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशनबमोजिम मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँकतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरूपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरूपण गरी कार्य गर्न मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणनाका लागि इलाम नगरपालिका– ७ मा रहेको गौतमबुद्ध सभागृहलाई तयारी गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा हृदयाघातबाट निधन भएकाले यहाँ उपचुनाव भएको हो । यहाँको उपनिर्वाचनमा राजनीतिक दलका १२ उम्मेदवार र सात स्वतन्त्रसहित १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीका डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।