पोखराबाट कक्षा १२ को प्रश्नपत्र लिक गर्ने दुई जना पक्राउ परेका छन्।
सामाजिक शिक्षा विषयको प्रश्नपत्र लिक गर्ने दुई जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन्। आइतबार राती पक्राउ गरिएको हो।फूलबारीस्थित शिवशक्ति मावि केन्द्रबाट उनीहरुले प्रश्नपत्र आउट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए। थापाका अनुसार दुवै जना शिवशक्ति माविका शिक्षक हुन्।
८ थान थप उत्तरपुस्तिका र मोबाइल फोन ३ थानसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान भइरहेको छ।