काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महाराविरुद्ध परेको जबर्जस्ती करणी उद्योगको मुद्दामा सुनुवाई सुरु भएको छ ।
काठमाडौं जिल्ला न्यायाधीश अम्बरराज पौडेलको बन्द ईजलासमा अन्तिम सुनुवाइ आज (आइतबार) बाट शुरू भएको हो । महराको मुद्दा तेस्रो नम्बरमा पेशी छ । उनको बकपत्र सुरु भएको छ ।
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षाका लागि थुनामा रहेका पूर्वसभामुख महराको पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । उनलाई सुनुवाईका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
यसअघि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश सुर्दशन पाण्डे उच्च अदालतको न्यायाधीश भएपछि अर्का न्यायाधीश पौडेलको इजलाशले बकपत्र गराएको थियो । सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइको पेशी तोकिएको थियो ।
महराका वकिल र सरकारी वकिलले आ–आफ्नो बहस गरेपछि जिल्ला अदालतले फैसला सुनाउने छ । महरा पक्षका कानुन व्यवसायी धेरै भएकाले केही दिन लाग्ने अनुमान जिल्ला अदालतले गरेको छ ।