सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, सिम्ले बजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान अन्दाजी ७ः२० बजे भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख.४९५५ नम्बरको एसीका सामग्री लोड भएको डिब्बा ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२ -०३१ प.०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परि मोटरसाइकल चालक गोरखा जिल्ला, गोरखा नगरपालिका ७ बस्ने २५ वर्षीय आदर्श श्रेष्ठ गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका र बोल्न नसक्ने अवस्थामा रहेका श्रेष्ठलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको थियो।
उनलाई बिहान ७ः५५ बजे कलंकीस्थित नेशनल अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा बिहान ०८ः२३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक धादिङको गजुरी गाउँपालिका ६, बन्छेटार बस्ने ५५ वर्षीय पशुराम मगरलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा रहेका चालक र सवारी साधनबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।