प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट आइतबार बंगलादेशतर्फ प्रस्थान गरेका छन् ।
सात सदस्यीय भ्रमण दलसहित बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गरिएको सैनिक मुख्यालयले बताएको छ । भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।
प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।