काठमाडौं । नागपञ्चमी प्रत्येक श्रावण शुक्ल पञ्चमीमा मनाउने गरिन्छ । हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व नाग पुजा अर्थात नाग पञ्चमी आज घरघरमा नागको फोटो टाँसेर, नागका मूर्तिमा पुजाअर्चना गदै मनाइँदैछ । हिन्दु धर्ममा विभिन्न जीवजन्तु, वनस्पतिलाई मात्रै नभएर सरिसृपलाई समेत भगवानको रुपमा पूजाआजा गरिन्छ ।
नागको फोटो टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक कालदेखि नै नाग पूजाको प्रचलन शुरु भएको हो । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले नागलाई खुशी पार्न पूजाआजा गर्ने परम्परा रहिआएको छ ।
प्रत्येक घरको जगमुनि नाग बस्ने गरेको हुन्छन् । बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।