राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ ।
पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ता चितवन पुग्ने क्रम तीव्र बनेको छ । महाधिवेशनका लागि चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई मुख्य स्थल बनाइएको छ । पार्टीले यसलाई आफ्नो संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ ।
महाधिवेशनमा देशभरका ६६ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने भएका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार देशभरबाट करिब ५ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक महाधिवेशनमा सहभागी हुनेछन् । प्रतिनिधि तथा कार्यकर्ताहरू चितवन पुग्ने क्रम जारी रहेको र उनीहरूको स्वागत तथा व्यवस्थापनका लागि स्थानीय तहमा विशेष तयारी गरिएको उहाँले बताउनुभयो ।