logo
  • सोमवार, अशोज ५, २०८३ / Monday, Sep, 21 ,2026

किङ्स कलेजद्वारा इम्प्याक्ट वीक २०२६ आयोजना


अंकुरण खबर
351
Shares

किङ्स कलेज काठमाडौंले बबरमहल स्थित क्याम्पसमा इम्प्याक्ट वीक २०२६ आयोजना गरेको छ। डिजाइन थिंकिङमा आधारित उक्त कार्यक्रममा पाँच देशका ३६ जना कोच तथा नेपालका विभिन्न जिल्लाबाट आएका १०८ जना सहभागीले सहभागिता जनाएका छन्।

कलेजका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। अगस्ट २६ देखि २८ सम्म तीनदिने ‘ट्रेनिङ अफ ट्रेनर्स’ ९टीओटी० आयोजना गरिएको थियो भने अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म मुख्य इम्प्याक्ट वीक कार्यक्रम सञ्चालन गरिएको थियो।

इम्प्याक्ट वीक किङ्स कलेजको अनुभवमा आधारित सिकाइ कार्यक्रम हो। यसमा मानवकेन्द्रित समस्या समाधान विधि ‘डिजाइन थिंकिङ’ प्रयोग गरी सहभागीलाई समुदायसँग संवाद गर्ने, वास्तविक समस्या पहिचान गर्ने, सम्भावित समाधान खोज्ने, प्रारम्भिक नमुना ९प्रोटोटाइप० तयार गर्ने र लक्षित व्यक्तिसँग परीक्षण गर्ने प्रक्रियाबाट अघि बढाइन्छ।

किङ्स कलेजले सन् २०१९ मा पहिलोपटक नेपालमा इम्प्याक्ट वीक आयोजना गरेको थियो। त्यसबेला विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साझेदारहरूको नेटवर्कसँग सहकार्य गर्दै डिजाइन थिंकिङमार्फत स्थानीय चुनौतीका समाधान खोजेका थिए। यस वर्ष कार्यक्रमको दायरा विस्तार गर्दै देशका विभिन्न जिल्लाबाट १०८ सहभागीलाई समेटिएको कलेजले जनाएको छ।

कार्यक्रमको उद्देश्य नेपाली युवा सहभागीलाई अन्तर्राष्ट्रिय कोच तथा मार्गदर्शकको नेटवर्कसँग जोड्दै सामाजिक तथा नागरिक चुनौती समाधानको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको छ। साथै, कार्यक्रमपछि पनि आफ्ना समुदायमा यस्तै पहल अघि बढाउन आवश्यक आत्मविश्वास, समानुभूति र सहकार्यात्मक सीप विकास गराउने लक्ष्य राखिएको छ।

सहभागीहरूले पाँच विषयगत ट्र्याकमा समूह बनाएर नेपालसँग सम्बन्धित विभिन्न चुनौतीमा काम गरेका थिए। जसमा स्मार्ट मोबिलिटी, नेपालमा बसाइँसराइ, स्वतन्त्र जीवनयापन, दिगो ऊर्जा तथा स्वास्थ्य र सुस्वास्थ्य रहेका थिए।

कार्यक्रम तीन तहको कोचिङ मोडलमा सञ्चालन गरिएको थियो। जर्मनीका एक लिड कोचले समग्र प्रशिक्षणको डिजाइन तथा कार्यक्रमको नेतृत्व गरेका थिए। त्यसैगरी जर्मनीका दुई तथा नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका एक–एक गरी पाँच जना सिनियर कोचले पाँचवटै ट्र्याकमा जुनियर कोचिङ टोलीलाई मार्गदर्शन गरेका थिए।

कार्यक्रममा नेपालका २०, जर्मनीका नौ र बुल्गेरियाका एक गरी ३० जना जुनियर कोचले सहभागी समूहसँग प्रत्यक्ष रूपमा काम गरेका थिए। मुख्य कार्यक्रमअघि जुनियर कोचका लागि अगस्ट २६ देखि २८ सम्म तीनदिने ‘ट्रेनिङ अफ ट्रेनर्स’ आयोजना गरिएको थियो।

मुख्य कार्यक्रममा हेटौंडा, मोरङ, वीरगन्ज, लुम्बिनी लगायत नेपालका विभिन्न जिल्लाबाट १०८ जना सहभागी काठमाडौं आएका थिए। यसले काठमाडौं उपत्यकाबाहिरबाट समेत इम्प्याक्ट वीकमा सहभागिता विस्तार गर्ने कलेजको प्रयासलाई देखाएको छ।

स्वास्थ्य तथा सुस्वास्थ्य ट्र्याककी संयुक्त राज्य अमेरिकाकी सिनियर कोच एलिसिया गोरेजले इम्प्याक्ट वीकले विभिन्न पृष्ठभूमि र संस्कृतिका मानिसलाई एकै ठाउँमा ल्याएर समानुभूति, सहकार्य र डिजाइन थिंकिङको साझा लक्ष्यमा जोड्ने बताइन्।

त्यस्तै, भारतका सिनियर कोच नदीमले काठमाडौंमा आयोजित इम्प्याक्ट वीक सिकाइ, सिर्जनशीलता, नवप्रवर्तन र मनोरञ्जनको प्रेरणादायी संगम भएको बताए। डिजाइन थिंकिङमार्फत नेपाल र विश्वका वास्तविक चुनौतीसँग नवप्रवर्तनलाई जोड्ने अवसर प्राप्त भएको उनको भनाइ थियो।

बबरमहल, काठमाडौंमा रहेको किङ्स कलेज निजी उच्च शिक्षा संस्था हो। कलेज वेस्टक्लिफ विश्वविद्यालय, संयुक्त राज्य अमेरिकासँग सम्बद्ध रहेको तथा नेपाल विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त रहेको जनाएको छ। कलेजका अनुसार इम्प्याक्ट वीक उसका प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रममध्ये एक हो, जुन नेपालमा पहिलोपटक सन् २०१९ मा आयोजना गरिएको थियो।