नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस द्वन्द्वकालीन मुद्दा टुंग्याउन सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी आयोगको ऐन संशोधन गर्न सहमत भएका छन् ।
यी आयोगमा पदाधिकारी सिफारिस तथा ऐन संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकमा ऐन संशोधन गर्न दुई दल सहमत भएका हुन्। विधेयक अपडेट गर्ने, कानुन मन्त्रालयले विधयेक प्रस्तुत गर्ने र यही अधिवेशनमा विधयेक पास गर्ने समझदारी गरिएको नेताहरुले बताएका छन् ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वसभामुख तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङ, नेकपा केन्द्रीय सदस्य देवकोटा, कांग्रेस नेताहरू डा मीनेन्द्र रिजाल र रमेश लेखकको सहभागीता थियो । यसैबीच द्वन्द्वपीडितहरुले आयोगमा पीडितलाई न्याय दिनसक्ने सक्षम पदाधिकारी नियुक्त गर्न माग गर्दै आएका छन् ।