सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटीका अध्यक्षमाथि कुटपिट भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको हो ।
आज दिउँसो आलिताल गाउँपालिका– ३ को बैठकमा सहभागी हुन गईरहेका बेला आलितालकै चौर बण्डमा अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन् । जोशीलाई उपचारका लागि धनगढी पठाइएको छ । जोशीसँगै मोटरसाइकलमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर कुटपिटबाट जोगिएकी छन् ।
आक्रमण र कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै नेकपा डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गरेको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारबाहीको माग समेत गरिएको छ ।