धनुषाको औरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या मेमोरी कार्डकै लागि परिवारबाटै भएको रहस्य खुलेको छ।
प्रहरीले चिन्तामणिको हत्या आरोपमा उनकै श्रीमान अनिल, नन्द पुनिता, सासू कुमला र ससुरा राधाकृष्ण पासवानलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। पक्राउ परेका चारै जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार सार्वजनिक गरेको छ।
घटनाको अनुसन्धान गर्दा मोवाइलमा प्रयोग हुने मेमोरी कार्डका लागि नन्दसँग झगडा भएको र त्यसपछि श्रीमान, सासु र ससुराले मिलेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, ‘श्रीमान, सासु, ससुरा र नन्दले पहिले चिन्तामणिलाई निर्घात कुटपिट गरी मारेका थिए, त्यसपछि अपराध लुकाउन झुण्ड्याएछन्। र जीउँदै छ भनेर जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याएको थियो।’
घटनाबारे थाहा पाएर प्रहरी अस्पताल पुग्दा चिन्तामणिको शव छाडेर सबै फरार भएका थिए । घटनापछि माघ १९ मा जनकपुरधाम उपमहानगर ४ पेठिया बजारबाट कुमला र पुनितालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि राधा र अनिललाई जनकनन्दनी गाउँपालिका २ बलहा टोलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।