काठमाडौं – भ्रष्टाचार प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्।
बिहीबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको जानकारी दिएका हुन्।
यस्तो छ उनको ट्विट:
मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020
यसअघि कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडिओ टेप बुधबार सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको छ।