logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरु


अंकुरण खबर
1.664K
Shares

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’(जिआइएस) शुरु गरिएको छ।

प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली शुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

आयोजनाअन्तर्गत हाल बिछ्याइएका पाइप कहाँ छ भनी जानकारी दिन सकिने आयोजना निर्देशक भोजविक्रम थापाले बताए । कुनै पनि संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप यस ठाउँमा छ भन्ने जानकारी दिएर क्षति नहुने गरी निर्माण गर्न सकिने उनको भनाइ छ ।

सडक निर्माणका क्रममा वा कुनै संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या वर्षेनी दोहोरिरहेकाले त्यो रोक्नका लागि यो प्रणालीको शुरुवात भएको हो । हाल स्तरोन्नतिका क्रममा रहेको गौशाला–चाबहिल खण्डमा पनि सडक मर्मत गर्दा आयोजनाका पाइपमा क्षति पुगेको छ ।

विगतमा खानेपानी र ढल जमिन मुनि हुने गरेकामा हाल विद्युत् प्राधिकरणले बिजुलीको तार पनि भूगिगत गर्न शुरु गरेको छ । सडकमा अन्तर निकाय समन्वय नहुँदा एउटा निकायले भत्काउने र अर्कोले बनाउने काम भइरहने गरेको छ ।

यो समन्वयका लागि शहरी विकास मन्त्रालयले गत वर्षदेखि नै ‘युटिलिटी करिडोर’सम्बन्धी कानून बनाउन शुरु गरेको छ ।