logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस : कोरियामा रहेका नेपालीलाई दूतावासले भन्यो, विशेष सावधानी अपनाउनु


अंकुरण खबर
1.209K
Shares

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि त्यहाँ रहेका नेपालीलाई विशेष सावधानी अप्नाउन सियोलस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै सतर्क र सजग रहन नेपालीहरूलाई आग्रह गरेको हो। दूतावासले निकालेको विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले त्यहाँ रहेका नेपालीलाई यसबाट सुरक्षित रहन भनिएको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा केही दिनदेखि बढिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँ चार सय बढी मानिसमा संक्रमण देखिएको छ। संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ।

दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो। दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ।

अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति भइसकेको बताउँदै उपचारका लागि ढुक्क भएर जान आग्रह गरेको छ।