logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित जापानी पानीजहाजबाट भारतले गर्‍यो नेपालीसहित ११९ नागरिकको उद्धार


अंकुरण खबर
1.456K
Shares

भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज)मा रहेका ११९ भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ।

एअर इण्डियाको विशेष विमानले सबै नागरिकलाई बिहीबार बिहान नयाँ दिल्ली ल्याइपुर्याएको हो। जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकको पनि उद्धार गरिएको हो। उक्त जहाज १२४ यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ। ‘डायमण्ड प्रिन्सेस’ क्रुज शिपबाट भारतीयलाई निकाल्न मद्दत गरेको भन्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले जापानी अधिकारीहरुलाई धन्यवाद दिएका छन्।

उनले ट्वीट गरेका छन्, ‘एअर इण्डियाको जहाज भर्खरै टोक्योबाट दिल्ली आइपुगेको छ। कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका ११९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ । एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु।’

उद्धार गरेर ल्याइएका मध्ये १६ जना भारतीय नागरिक भाइरसको चपेटामा परेका छन्। उनीहरु सबैलाई १४ दिनसम्म हरियाणाको भारतीय सेनाको मानेसरमा रहेको संगरोध सुविधा केन्द्र पठाइएको छ।