काठमाडौं – महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ल्याइएको हो । मैनालीसहित घाइते सबैलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि भर्ना गरिए पनि मैनालीको अवस्था गम्भीर रहेको कारण त्यहाँ उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सबैलाई काठमाडौं ल्याइएको हो।
दुर्घटनामा परी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते छन् । घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको जनाइएको छ । पाँचैजनामध्ये नेता मैनाली र उनकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्।
बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार अर्को दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको थियो । नेता मैनाली भाइ मीन प्रकाशकी छोरीको विवाहका लागि केही दिनअघि झापा गएका थिए ।