प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सफल भएको छ।
मृगौला प्रत्यारोपण सफल भएपछि अस्पतालले यस्तो विज्ञप्ति जारी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो । यसको विस्तृत विवरण केही समयमा अस्पतालले दिने बताइएको छ ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी हुन् ।
१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो ।
