logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउनको अन्तिम सोमबार आज पशुपतिलगायत शिवालयमा भक्तजनको भीड


अंकुरण खबर
2.99K
Shares

काठमाडौं – साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ ।

साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको थियो । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार स्थानबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ । भोलेनाथ काँवरिया सङ्घको आयोजनामा भएको आजको बोलबममा हजारौँ भक्तजन सहभागी भएका थिए । बोलबम मेला भर्न आइतबार साँझ नै भक्तजन सुन्दरीजल पुगेका थिए ।

आइतबार साँझ सुन्दरीजल पुगेका भक्तजन रातभर भक्ति सङ्गीत एवं भजनकीर्तन गरी बसेका थिए । राति १२ बजेपछि स्नान एवं जल सङ्कल्प गरी खाली गोडा करीब ११ किमी पैदल यात्रा गरेर पशुपतिनाथ मन्दिरसम्म आएका थिए ।

यसैगरी उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, सन्तानेश्वर, डोलेश्वरलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड छ । साउनको सोमबारको व्रत आज सकिए पनि श्रावण मासमा गरिने भगवान् शिवको पूजा–आराधना भने चन्द्र एवं सौरमासअनुसार यो महिनाभर हुनेछ ।