बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न आरोपी १२ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आज बिहान २ बजे घरबाटै पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेका फौजदार होली मनाउन घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरीले फौजदारलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिने क्रममा केही आफन्तले अवरोध गरेपछि चार राउण्ड हवाई फाइरिङ समेत गर्नु परेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले जानकारी दिए ।
पत्रकार साहको २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या भएको थियो । अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।