कोरोना संक्रमण रोकथामको तयारी र रणनीतिबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाएको छ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बैठकमा बोलाएका हुन्। बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ।
कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपाय र रणनीतिबारे छलफल गर्न बैठक बोलाएको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेले जनाएका छन् ।
पोखरेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजक पनि हुन्। समितिमा स्वास्थ्य, गृह, रक्षा, पर्यटनलगायत विभिन्न नौ मन्त्रालयको प्रतिनिधित्व छ।