नेपालमा फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका कारण दुई दिन हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज (बिहीबार) पश्चिमी वायुको प्रभाव पश्चिम क्षेत्रमा सीमित भए पनि भोलि (शुक्रबार) यसको असर देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र साँझपख पश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । भोलि (शुक्रबार) देखि भने पश्चिमी वायुको प्रभाव देशभर फैलिने र देशका धेरै ठाउँमा हावाहुरीसहित असिना–पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताए।
अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु दुवैको प्रभावले आंशिक बदली भएको छ भने मध्य र पूर्वी पहाडमा स्थानीय वायुको प्रभावले मौसम आंशिक बदली छ ।
काठमाडौं उपत्यकामा पनि अहिले मौसम आंशिक बदली छ । काठमाडौं उपत्यकासहति मध्य र पूर्वी क्षेत्रमा आज पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।