सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटमा सत्यतथ्य छानबिनको माग गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रहरीले आफूहरुलाई पूर्वअनुमान थियो भन्नुको तात्पर्य खोजी गर्न माग गरेका छन् । ‘माननीय सदस्य गोकुल बास्कोटाको घरमा बिस्फोट भएको छ । हामीलाई पूर्वअनुमान थियो प्रहरीले भन्छ ।’
संसदमा बोल्दै उनले भने, ‘पुलिसलाई पूर्वअनुमान थियो भने को–को संलग्न छन् ? या पुलिस नै त त्यहाँ छैन संलग्न ? त्यो समेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्दछु ।’
उनले बम विस्फोटमा प्रहरीमाथि नै आशंका समेत गरेका छन् ।