logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एसइई भोलिदेखि : ४ लाख ८२ हजार ७०७ परीक्षार्थी सहभागी हुँदै


अंकुरण खबर
910
Shares

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एसइई परीक्षा चैत ६ गते बिहीबार देखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने छ ।

परीक्षा बोर्डका अनुसार केन्द्रबाट प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पुर्‍याइसकेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ८२ हजार ७०७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । त्यस निम्ति १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने भएका छन् ।

परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।

परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३ सय र एउटा कक्षा कोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ ।

कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।

परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।