logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अरुण खोलामा ट्रक ठोक्किँदा पुल दुई मिटर भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्तर्गत पर्ने अरुणखोलामा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपराले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए ।

बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।