logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूयोर्कमा दुई नेपालीलाई कोरोना भएको पुष्टि गरिँदै


अंकुरण खबर
2.964K
Shares

कोरोना भाइरसको केन्द्र बिन्दु रहेको अमेरिकाको न्यूयोर्क राज्यमा दूई नेपाली कोराना भाइरसको संक्रमित भएका छन् र उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको बिरामीको परिवारले जानकारी दिएका छन्।

दुबैको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । संक्रमतिमध्ये एक न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४६ वर्षका उबर चालक हुन् । पारिवारिक स्रोतका अनुसार सुरुमा उनलाई ज्वरो आएपछि प्राथमिक उपचारको लागि गएको र चारदिन पनि फलोअपमा बोलाइएको थियो । फलोअपमा दिइएको एन्टिबायोटिक औषधी खाँदा स्वास्थ्य स्थिती झनै खराब भएपछि उनलाई ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सिटिएमडीमा रिफर गरिएको थियो ।

सिटिएमडीमा उपचार गर्दा अक्सिजनको स्तर कम र निमोनियाको संक्रमण देखिएपछि एल्महर्स्ट अस्पताल जान भनेपछि अस्पतालले उनलाई अघिल्लो शनिबार भर्ना गरेको हो । उनकी श्रीमतीले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् । उनका अनुसार बिहिबार कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाएको छ ।

प्रेसरको औषधी खाने गरेको पारिवारिक स्रोतले बताएको छ ।

यस्तै, न्यूयोर्कको क्विन्समा रहेको एल्महर्स्ट अस्पतालमा उपचारका लागि पुगेका ५० वर्षीय मधुमेहका रोगी अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि ज्वरो आएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका थिए ।

प्रारम्भिक परीक्षणपछि कोरोनाको आशंकामा उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा उनी संक्रमित भएको पुष्टि भएको थियो । दुई दिनदेखि उनको स्वास्थ्यस्थिती गम्भीर रहेकोले भेन्टिलेटरमा राखेको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको र उनीहरुको मंगलबारसम्म रिपोर्ट आउने अनुमान गरिएको छ । एजेन्सी