काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ ।
कोभिड-१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ ।
प्रशोधित पानी नियमित रूपमा उपलब्ध गराइने उनको भनाइ छ । ट्याङ्कीमा पानी खाली भए÷नभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ । कोरोना भाइरसको जोखिम बढिरहे पनि लिमिटेडले नियमितरूपमा उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ ।
भाइरस रोकथाम र नियन्त्रणका लागि लिमिटेडले मास्क, स्यानिटाइजर, साबुनलगायत आवश्यक सामग्री उपलब्ध गराएर कर्मचारीलाई नियमित काममा लगाएको हो ।