विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले आजदेखि घोषणा गरेको लकडाउनप्रति सर्वसाधारणले गम्भीरता देखाएका छैनन् ।
संक्रमण फैलिए नियन्त्रणबाहिर जाने आंकलनसहित सरकारले आजदेखि १८ चैतसम्म सम्पूर्ण देश नै लकडाउन गर्ने निर्णय गरेको थियो । तर, उपत्यकाका सडकमा मानिसहरुको बाक्लो चलहपहल देखिएको छ । सुरक्षाकर्मीले समेत खासै कडाइ गरेका छैनन् । विभिन्न बहानामा जबर्जस्ती सडकमा सवारी साधन गुडाउने प्रवृत्ति पनि देखिएको छ ।
सरकारले यो अवधिमा खाद्यान्न र औषधि किन्नेजस्ता अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ । लकडाउन उल्लंघन गर्नेमाथि कारबाहीको चेतावनी दिए पनि मानिसहरुले त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएको छैन । लकडाउन उल्लंघन गर्नेमाथि ६ महिना कैद र ६ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।