संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिले कोरोना भाइरस मानवजातिका लागि संटकपूर्ण र खतरा भएको चेतावनी दिएका छन् । सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसको अहिले अवस्था हेर्दा यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएले यसको विरुद्धमा सबै मानव एकजुट भएर लाग्नु पर्ने बताएको बीबीसीले जनाएको छ ।
यो महामारी विकसित देशहरुमा समेत नियन्त्रण बाहिर भएकाले विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको मृत्यु हुन सक्ने महासचिव गुटेरसले चेतावनी दिएका छन् ।
तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
उनले भनेका छन् एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए। संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ ।
कोरोनाविरुद्धका लडाइँमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाइँको लागि अपिल गरेका हुन् ।