logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा २१ जनाको रिपोर्ट आयो- २० जनाको नेगेटिभ, एकको पोजिटिभ


अंकुरण खबर
806
Shares

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकोमा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ ।

त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको हो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमण फैलन नदिनका लागि हालसम्म प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा ६४ वटा क्वारेन्टाइनस्थलमा एक हजार ३५२ शैंया तयारी अवस्थामा राखिएको छ । क्वोन्टाइनमा केही वैदेशिक रोजगारीबाट फर्किएकालाई राखिएको समेत जनाइएको छ ।

त्यसैगरी हालसम्म विभिन्न अस्पतालमा २९९ आइसोलेशन शैंया तयार गरिएको छ । प्रदेशमा एक जना सङ्क्रमित भेटिइसकेकाले सङ्क्रमण थप फैलन नदिनका लागि सङ्क्रमितको उपचार र व्यवस्थापन, कन्ट्र्याक्ट ट्रेसिङ, द्रुत प्रतिकार्य टोली (आआरटी) परिचालनलगायतलाई तीव्रता दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमा कोरोनाका बारेमा जानकारी लिन–दिनका लागि बिहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म ‘हेल्लो डक्टर हटलाइन सेवाः १०९२’ शुरुवात गरिएकामा हालसम्म १०५ जनाले सेवामार्फत कोभिड–१९ तथा अन्य स्वास्थ्यसम्वन्धी परामर्श लिएको बताइएको छ ।

हटलाइन सेवामा सर्वसाधारणले कोरोनाका बारेमा सम्पूर्ण जानकारी तथा मिल्दोजुल्दो लक्षण भएमा चिकित्सकको परामर्श समेत लिनसक्ने व्यवस्था गरिएको छ ।