logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजविराजमा कोरोना आशंका गरिएका नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ


अंकुरण खबर
741
Shares

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. चुमनलाल दासले जानकारी दिए ।

भारतका विभिन्न ठाउँबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।

वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजितकुमार झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ ।