logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट झापा पुगेका नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा


अंकुरण खबर
624
Shares

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा पुगेका दुई युवकलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन्। ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाडौंदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा पुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो। उनीहरु लागू औषधको खोजीका लागि काठमाडौंबाट झापा पुगेको हुन सक्ने प्रहरीको आशंका छ ।

दुवै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाइएको छ भने सवारीसाधन प्रहरी कार्यालयमै राखिएको छ।