logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट फर्केकालाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न सुदूरपश्चिम सरकारको निर्देशन


अंकुरण खबर
1.326K
Shares

प्रदेशभित्र कोभिड-१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ।

अहिले भर्खरै टेलिभिजनबाट गरेको प्रत्यक्ष सम्बोधनमार्फत् मुख्यमन्त्री त्रिलोचन भट्टले भारत तथा अन्य मुलुकबाट आएका नेपाली नागरिकलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने बताएका हुन्।

सुदूरपश्चिमका विभिन्न जिल्लामा भारतलगायत मुलुकबाट फर्केका दुई हजार १४९ पुरुष र १९५ महिलालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई १४ दिनसम्म परिवार र समुदायको सम्पर्कमा जान नमिल्ने गरी क्वारेन्टाइनमा राखिएको थियो। तर, हिजो, २२ चैतमा कैलालीमा दुई र कञ्चनपुरमा एक गरी तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

कैलालीमा संक्रमण पुष्टि भएकी महिला देशभित्रै संक्रमण पुष्टि हुने पहिलो महिला थिइन्। उनलाई दुबईबाट आएका आफ्नै देवरबाट संक्रमण भएको भेटिएको छ।

कैलालीको यो घटनालगत्तै स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको थियो।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री प्रकाश शाहले १४ दिनभन्दा पछिसम्म पनि संक्रमण भएको प्रमाणित भएपछि क्वारेन्टाइन अवधि बढाउने निर्णय गरिएको जानकारी दिए ।