logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

कोभिड-१९ : अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द


अंकुरण खबर
741
Shares

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकामा १५ दिन थप गरी वैशाख १८ सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख ३ गते सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । आन्तरिक उडान भने वैशाख ३ सम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए ।

कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको पनि उनले बताए । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समिति बैठकले सबैखालका आपूर्ति र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी कायमै राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव बिडारीले बताए ।

स्वास्थ्य सामग्रीहरूको खरिदका सम्बन्धमा नेपाल सरकारले प्रचलित कानुनबमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव बिडारीको भनाइ छ ।

स्वास्थ्य सेवा विभागले प्रक्रियागत रूपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जीटुजी) मार्फत प्रत्यक्ष खरिद गर्ने प्रक्रिया अगाडि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उनले बताए । त्यस्तै विदेशमा रहेका कूटनीतिक नियोगसँग समेत समन्वय गरी सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ ।