logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शव ११ दिनपछि उठ्यो


अंकुरण खबर
3.341K
Shares

कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा ज्यान गुमाएका एक जनाको शव परिवारले ११ दिनपछि बुझेका छन्।

चैत १६ गते अस्पतालमा ज्यान गुमाएका पाल्पा, रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि बुधबार परिवारले बुझेका हुन्।

बुधबार बसेको सर्वपक्षीय बैठकले मृतक परिवारलाई आठ लाख रूपैयाँ राहत दिने तथा सन्ततिको शिक्षा दिक्षाको व्यवस्था गर्ने सहमतिमा परिवारले शव उठाएको अस्पतालले जनाएको छ।

सर्वपक्षीय बैठकले मृतकका परिवारलाई विभिन्न सामाजिक संघसंस्थाले ८ लाख राहत दिने निर्णय भएको छलफलमा सहभागी पूर्वसभासद् विनोद पहाडीले जानकारी दिए।

पहाडीका अनुसार पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख ५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको छ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयसमेतको उपस्थितिमा भएको सहमतिमा प्रदेश सरकारको पहलमा मृतककी पत्नीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको छ।

थापालाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालले भर्ना गर्न नमानेपछि उनको ज्यान गएको परिवारले जनाएको छ। थापाको शव बुधबार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।