राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
उनले आज शुभकामना सन्देश दिँदै अहिलेको यो विषम परिस्थितिमा पनि आ आफ्नो ठाउँमा खुसी र सुखी हुन पनि आग्रह गरेकी छिन् ।
उनले कोरोना भाइरसले १ लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमित भएका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिएकी छिन् ।
कोरोना सिर्जित यस विपद्मा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छिन्।