काठमाडौं – नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्याङमा एक प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ । जवानको प्रेमिकाको कोठामा मृत्यु भएको हो । रहस्यमय मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको बताएको छ ।
महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू विगत एक वर्षदेखि नै लिभिङ टुगेदरमा बस्दै आएका थिए । श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्छिन् ।
महिलाले प्रहरीमा दिएको बयानअनुसार ‘शनिबार राति करीब १० बजे उनी मदिरा पिएर कोठामा आई प्रेमिकासँग भनाभन भएको थियो । एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए । त्यसो नगर्न भन्दा आफूलाई हिर्काएर पछारेको र एकछिनपछि उठेर हेर्दा पासो लगाएका थिए ।’ त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो । महिलाको भनाइ उद्धृत गर्दै वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि राति १:१५ बजे प्रहरी घटनास्थल पुगेको हो । ती महिलालाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगुन्ना स्वयम्भू वृत्तमा विसं २०७० देखि कार्यरत थिए ।