महोत्तरीमा चार जनाको रहस्यमय मृत्यु भएको चर्चा सेलाउन नपाउँदै थप दुई जनाको ज्यान गएको छ ।
मंगलबार चार जनाको रहस्यमय रुपमा मृत्यु भएको २४ घण्टाभित्रै थप दुई जनाको रहस्यमय मृत्यु भएपछि स्थानीय मात्र होइन् घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै अलमलमा परेका छन् ।
मृतकहरुको अनुसन्धान चलिरहेका बेला महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नामा थप दुई जनाको मृत्यु भएपछि झन् रहस्य बढेको छ ।
बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिएका छन् ।
बुधबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ । विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको आशंका गरिए पनि रक्सी नखाएका केही व्यक्तिको मृत्यु भएकोले के कारणले मृत्यु भएको छ भन्ने विषयमा पत्ता लगाउन सिकिन्दरको शवलाई पोस्टमार्टम गर्नुका साथै कोरोना परीक्षण समेत गरिने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी जानकारी दिएका छन् ।
सोही टोलका मंगलबार स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो । मृत्यु भएका उनीहरुको शव दाहसंकार गरिसकिएको छ ।