स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त वायु समेत प्रवेश गरिरहेका कारण नेपालको मौसममा बदली रहेको मौसमविदले जानकारी दिएका छन् ।
आज (शनिबार) देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज देशका पहाडी भेगमा मेघगर्जन, चट्याङसहित असिना पानी पर्ने सम्भावना छ भने पश्चिम तथा पूर्वी तराईमा हावाहुरी समेत आउने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा आज अपराह्न चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ । आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा पश्चिम र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’