कोरोना संक्रमित ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को टोली नेपालगन्ज आइपुगेको छ ।
देशभरमै सबैधेरै नेपालगन्जमा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली बुधबार नेपालगन्ज पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका-८, महेन्द्रपार्क नजीक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओ टिमले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । चिकित्सक लगायत प्राविधिक टोलीका डब्लुएचओ सदस्यहरुको विस्तृत विवरण खुलाइएको छैन ।
डब्लुएचओको टोली यतिबेला नेपालगन्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ । बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ । आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा ७ जनामा पोजेटिभ देखिएपछि बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ । रासस