logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी समिति बैठक अनिश्चित, ओली-प्रचण्डबीच छलफल हुँदै


अंकुरण खबर
728
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक अनिश्चित भएको छ।

स्थायी समिति बैठकका एजेन्डा तय गर्न आज प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठक निष्कर्षमा नपुगेपछि अनिश्चित भएको हो।

गत शनिबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठक बिहीबारलाई तोकेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षको गृहकार्य नपुगेको जानकारी बैठकमा गराएको बताए ।

‘२० गतेको सचिवालयको बैठकको निष्कर्ष अनुरुप २० जना स्थायी कमिटी सदस्यहरुले बैकक बोलाउन माग गरेको सन्दर्भलाई ध्यान दिइ भोलि स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको हो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘त्यस सन्दर्भमा कार्यसूची र २० गतेको निष्कर्षको मर्म अनुरुप प्रस्ताव तयार गर्ने प्रक्रियाका सन्दर्भमा २ अध्यक्षले अझै पनि गृहकार्य गर्ने जानकारी बैठकमा गराइयो। त्यसबारे दुईटा अध्यक्षले कार्यसूची र बैठक के गर्ने भन्ने बारेमा निर्णय गर्नुहुने भएको छ।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच अहिले पनि छलफल जारी रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकको बीचैमा बाहिरिनु भयो भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले बैठकलाई जानकारी गराएर नै प्रधानमन्त्री ओली बाहिरिएको बताए। आफ्नो केही व्यवस्तताका कारण, केही शारीरीक कारणले समेत बैठक पूरा समय बस्न नसक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।