सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत ६ जना नयाँ कोरोनाका संक्रमित थपिएको पुष्टि गरेको हो।
सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका एक जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ र नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १ र काठमाडौं घर भई बारामा कार्यरत १ जनामा संक्रमण पोजेटिभ देखिएको छ।
यसअघि आजै ७२ जनामा कोरोना संक्रमण देखिएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८१ पुगेको छ। हालसम्म १११ जना डिस्चार्ज भएका छन्।
यस्तै, जेठ ४ गते नै मृत्यु भइसकेका पर्साका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ। अन्त्येष्टि समेत गरिसकेका ती व्यक्तिमा आज जेठ १२ मा स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि देखिएको आधिकारिक घोषणा गरेको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ४ पुगेको छ।