logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चौरजहारी सोती घटनामा पाचौँ शव फेला, १ जना अझै बेपत्ता


अंकुरण खबर
2.288K
Shares

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ।

भेरी नगरपालिका–१३ कालाभीर मन्दिर नजिकै भेरी नगरपालिका वडा नं ११ का १८ वर्षकै सञ्जु (सन्दीप) विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

योसँगै घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने अझै एक जना बेपत्ता छन्। सोही घटनामा बेपत्ता १७ वर्षीय गोविन्द शाही ५ दिनदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भइसकेको छ । सबैजनाको शव भेरी नदीमा भेटिएको हो।

घटनामा संलग्न रहेको भन्दै मृतक नवराज, गणेश र टीकारामका आफन्तले चौरजहारी नगरपालिका–८ सोतीकी नवराज विककी प्रेमिका १७ वर्षीया किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध किटानी जहोरी दिएका छन्।

किटानी दिएकामध्ये १८ पक्राउ परिसकेका छन् भने बाँकी २ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ।