हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेङ्गु संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।
बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।
उनकाअनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । संक्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए ।