बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।
जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो। शुक्रबार साँझदेखि उनले खाना पनि खाएका थिएनन्।
उनको गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा मृत्यु भएको छेडेदह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए।
२५ वर्षदेखि भारतमा बस्दै आएका मृतक यही जेठ १५ गते मात्र गाउँमा आएका थिए। मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने तयारी गरिएको छ।