नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो ।
वालिङका ती ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए ।
स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो । उनी मृगौला, उच्च रक्तचाप, सुगरलगायतका बिरामी रहेको बुझिएको छ ।