रुकुम पश्चिम घटनाको अध्ययनका लागि गठित संसदीय विशेष समितिले आफ्नो काम सुरु गरेको छ ।
विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट गरी प्रारम्भिक छलफल अघि बढाएको हो ।
सभामुखसँगको छलफलपछि समितिका पदाधिकारी घटना अनुसन्धानका लागि रुकुम जाने भएको छ । संविधान संशोधनका लागि संसदमा मतदान सकिएलगत्तै घटना अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने संयोजक देवेन्द्र पौडेलले जानकारी गराएका छन् ।
आफूहरुले सो घटनाको गम्भीरतापूर्वक अध्ययन गरेर सम्मानित सदनले दिएको जिम्मेवारी पूरा गर्ने पौडेलको प्रतिबद्धता छ । त्यसका लागि कार्यविधि बनाएरै जाने उनले बताए ।
रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिनका सभामुख अग्निप्रसाद सापकोटाले पौडेलको संयोजकत्वमा गत जेठ २६ गते संसदीय विशेष समिति गठन गरेका थिए । समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाइली ९स्नेही०, बिमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।
विशेष समितिलाई घटनाको अनुसन्धान गर्न ३० दिनको समयावधि दिइएको छ ।