प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अन्त्य भएको नभई केही खुकुलो पारिएको स्पष्ट पारेका छन् ।
नेपाल टेलिभिजनमार्फत आज बैकल्पिक शिक्षाको शुभारम्भ गर्दै उनले कोरोना भाइरसको महामारी रोकिनुको सट्टा फैलँदो क्रममा रहेकाले सावधानी अवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले खुकुलो भएको लकडाउमा नागरिकको व्यवहार स्वच्छन्द नभएर सतकर्ता सहितको हुनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले सामाजिक दुरी पालना नगर्ने आवश्यक सतर्कता नअपनाउने र मनखुसी चल्ने गरेमा सिंगो समुदाय नै संक्रमित हुने जोखिमलाई ख्याल गर्न पनि आग्रह गरे । उनले मुलुक बन्ने र सुशासन र स्वच्छता कायम हुनेमा ढुक्क हुन आग्रह पनि गरे ।
प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा थप क्षति र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भनेर विद्यालय तहका बालबालिकाका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको पनि बताए । कोरोना संक्रमणसँगै प्रविधि घरघरमा प्रवेश गरेकाले त्यसलाई सदुपयोग गर्न पनि उनले आग्रह गरे ।
महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको प्रधानमन्त्री ओलीले बताए । एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको उनको भनाइ छ । जोखिमको अवस्था आँकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुनेपनि प्रधानमन्त्रीले जानकारी गराए ।